गोडैता – सर्लाहीको पश्चिमी भेगस्थित गोडैताबाट हात हतियार र नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको भारतको बिहार राज्य सितामढी जिल्ला मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाँउका २६ बर्षिय कुन्नु पटेल र सोहि ठाउँका ३० बर्षिय मुकेश पटेल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुलाई सिमाबर्ती क्षेत्र गोडैता नगरपालिका-१२, मधुवनीबाट पक्राउ गरिएको हो।
उनीहरुलाई अवैध हात-हतियार र खोटा मुद्रासमेतको ओसार पसार हुन सक्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले आज (मंगलबार) पक्राउ गरेको हो। पैदल आईरहेका उनीहरुलाई उक्त स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा अबैध हात हतियार र नक्कली नोट रहेको पाईएपछि पक्राउ गरिएको हो।
प्रहरीले उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल, केएफ आठ एमएम लेखिएको ६ थान र केएफ नौं एमएम ४ थान गोलि, १० थान बण्डलमा १,००० रुपैंयाका नक्कली नोटहरू बरामद गरेको छ। पक्राउ परेका उनीहरुमाथि सर्लाही जील्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाईएको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।