काठमाडौँ – अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गर्दै डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन् । कमला ह्यारिसले २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् ।
ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन् । अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज मध्ये बहुमतको लागि २७० इलेक्टोरल भोट आवश्यक पर्दछ ।
अहिले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाईको ओईरो लागिरहेको छ। यहि क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पनि उनलाई बधाई दिएका छन्। राष्ट्रपति पौडेलले ट्रम्पको नेतृत्वमा विश्व शान्ति कायम होस् भन्ने सन्देश पनि दिएको राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलले बताए ।