छठ पर्वको अन्तिम दिन आज, उदाउँदो सूर्यलाई अर्घ दिइँदै

२०८१ कार्तिक २३, शुक्रबार ०५:५६

सर्लाही – आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । मङ्गलबारदेखि सुरु भएको यो पर्वमा कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरेर मनाइन्छ।

पर्वको आज अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोड्नेछन् । महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

निराहार व्रत बसेका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई पूजा गरी अर्घ दिएसँगै छठको समापन गर्नेछन् । यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा, मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ।

चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार