सर्लाही – मकवानपुरको बकैया गाउँपालिकाको हात्तीसुँडेमा रहेको बुद्ध माविका प्रधानाध्यापक प्रेम बहादुर बोम्जनमाथि गोली प्रहार गर्ने सर्लाहीका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुरका ३० वर्षीय कर्मानन्द ठाकुर रहेका छन्।
प्रधानाध्यापक बोम्जनमाथि गत आईतबार दिउँसो सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा गोलि प्रहार भएको थियो। पक्राउ परेका ठाकुरसहित ३ जना मिलेर लुटपाट गर्ने उद्देश्यले शिक्षकमाथि गोली प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताईएको छ।
सर्लाहीको बागमती गाउँपालिका–१ घर भएका प्रधानाध्यापक बोम्जन प्रदेश–२–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुली जाँदै थिए, सोहि क्रममा कर्मानन्दसहितको समुहले उनि माथि गोलि प्रहार गरेको हो।
कर्मानन्दसहितको लुटेराको समुहले प्रहार गरेको गोलि लागेर प्रधानाध्यापक बोम्जन घाईते भएका छन्। गोलि उनको दाहिने गालामा लागेको थियो। प्रअ बोम्जनको अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भईरहेको छ।