सर्लाही – सर्लाहीका दुई जना पुरुष महोत्तरीबाट १५० किलो गाँजासहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-११ बस्ने २७ वर्षीय आकाश ठाकुर र हरिवन नगरपालिका-२ बस्ने ३० वर्षीय पेमा दोर्जे लामा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुलाई शनिबार दिउँसो महोत्तरीको औरही नगरपालिका-१ औरही चेक पोष्ट अगाडि सडकबाट अवैध लागुऔषध गाँजासहित पक्राउ गरिएको हो।
उनीहरु सवार भई गौशलाबाट औरहीतर्फ आउँदै गरेको युपि ५७ एएफ ९४९५ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा ३० वटा पोकामा रहेको १ सय ५० किलोग्राम गाँजा भेटीएपछि उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले उनीहरुको साथबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५० किलोग्राम, नगद ७७ हजार रुपैयाँ र मोबाइल ३ थान बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको छ।