सर्लाही – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ। सोमबार जनकपुरमा कार्यक्रम गर्दै जनकपुरले आधिकारिक जर्सी सार्वजनिक गरेको हो।
मधेस प्रदेशका खेलकुद मन्त्री प्रमोद जयसवालको उपस्थितिमा मार्की खेलाडी आसिफ शेखले आधिकारिक जर्सी रिभेल गरेका हुन्। सोही कार्यक्रममा नेपाली यू-१९ क्रिकेट टोलीकी कप्तान पुजा महतोलाई ‘फेस अफ द बोल्ट्स’को रूपमा सार्वजनिक पनि गरिएको थियो । साथै उनलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान समेत गरिएको थियो।
कार्यक्रममा बोल्दै महतोले आफूलाई फेस अफ द बोल्टस बनाएर सम्मान गरेकोमा खुशी व्यक्त गर्दै जनकपुर टिमलाई धन्यवाद दिइन् भने एनपिएलको पहिलो संस्करणमै मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुरलाई सफलताको शुभकामना समेत उनले दिइन्।
एनपीएलका आठ फ्रेन्चाइजहरूमध्ये विराटनगर किङ्स र चितवन राइनोजबाहेक सबैले आधिकारिक जर्सी सार्वजनिक गरिसकेका छन्। एनपीएल आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुँदै छ। साथै क्यानले आज सोमबार नै खेलको खेल तालिका सार्वजनिक गरेको छ। – नेपाल लाईभबाट
सम्बन्धित खबर:
-एनपीएलको खेल तालिका सार्बजनिक, पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुने