सर्लाही – रौतहटमा सर्वसाधारणलाई जुत्ताको माला लगाएर घुमाउने वडा अध्यक्षसहित ४ जनामाथि मुद्दा दर्ता भएको छ। प्रहरीका अनुसार गत मंगलबार गरूडा नगरपालिका ३ मलाही बस्ने परीक्षण सहनीले माधवनारायण नगरपालिका ७ लौकाहा घर भई हाल मलाही बस्ने वर्ष १८ का राजु सहनीलाई मोटरसाइकलमा बसाई गरूडा बजारबाट घर तर्फ जाँदै थिए ।
सोहि समयमा चाँदीपुल नजिक सडक खण्डमा गढीमाई नगरपालिका ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीसहित नगरपालिका ९ बस्ने सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनीले मोटरसाईकल रोकी विभिन्न किसिमको गाली गलौज गर्दै कुटपिट गरी परीक्षण सहनी र राजु सहनीको घाँटीमा जुत्ताको माला लगाई अपमानजनक तथा अमानवीय व्यवहार गरेको बताईएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा वडा अध्यक्ष सहनीसहित चारै जनामाथि अपमानजनक तथा अमानवीय व्यवहार कसुरमा मुद्दा दायर गरिएको छ। मुद्दा दायर भएपछी वडा अध्यक्ष सहनी फारार रहेको र अन्य तीन जनलाई नियन्त्रणमा लिइएको छ। फरार वडा अध्यक्षको खोजि तिब्र रुपमा भईरहेको प्रहरीले जनाएको छ।
यस्तै, नियन्त्रणमा रहेका तीन जनाहरुलाई अहिले इलाका प्रहरी कार्यालय गरुडा राखिएको छ भने रौतहट जिल्ला अदालतबाट म्याद थप लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए।