सर्लाहीमा एकै ठाउँमा ठोक्किए दुई वटा यात्रु बस र एउटा ट्रक

२०८१ मंसिर ७, शुक्रबार १४:३२

सर्लाही – पूर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित अमुवा खोला पुल नजिकै तीन वटा सवारी दुर्घटना भएका छन्।

प्रहरीका अनुसार आज (शुक्रबार) बिहान जनकपुरबाट वीरगञ्ज जाँदै गरेको ना ७ ख ८६३१ नम्बरको यात्रुबसलाई सोही दिसाबाट आँउदै गरेको ना ६ ख १८ ७७ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा परेर अनियन्त्रित बनेको उक्त बसले सुनसरीबाट कपिलवस्तु जाँदै सडक किनारमा रोकी राखेको लु १ ख ८६७० नम्बरको ट्रकलाई ठक्कर दिएको बताइएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा ना ७ ख ८६३१ नम्बरको बसका धनी महोत्तरीको महोत्तरी गाउँपालिका–३, बस्ने ४० वर्षका सिधु कुमार मिश्र र ना ६ ख १८७७ नम्बरको चाँदतारा बसमा सवार महोत्तरीको जलेश्‍वर नगरपालिका–४, सुगाभवानीपट्टि टोल बस्ने ४८ वर्षकी रेणु देवी कर्ण र उनको छोरा २० वर्षका विधान्शु कर्ण रहेका छन्।

घाइतेहरुमध्ये दुवै आमा छोराको अहिले न्यूरो अस्पतालमा वीरगञ्जमा र अर्का घाइते मिश्रको जनकपुरमा उपचार भईरहेको छ। प्रहरीले दुर्घटनामा परेको तीन वटै सवारी नियन्त्रण लिएको छ। बस र ट्रकलाई ठक्कर दिने १८७७ नम्बरको बसका चालक फरार रहेको र खोजी भइरहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार