अबदेखि ओभरलोडका कारण गाडी दुर्घटना भए स्थानीय प्रहरी प्रमुख जिम्मेवार हुने

२०८१ मंसिर १२, बुधबार १५:२१

सर्लाही – क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटना भए अब त्यस्तो सवारीले पार गरेको अन्तिमको प्रहरी इकाई प्रमुख जिम्मेवार हुने भएको छ । गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको बैठकको निर्णय कार्यान्वयन गर्न मातहत निकायलाई परिपत्र गरेको छ ।

गृहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी महासंघलाई समेत परिपत्र गरेको हो । गृहको परिपत्र अनुसार अब स्थानीय स्तरमा सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोकेको पाइए स्थानीय प्रहरीले कडाइसाथ कारबाही गर्नुपर्ने भएको छ ।

प्रहरीको लापरबाहीका कारण सवारीसाधन दुर्घटनाग्रस्त भए त्यसको विभागीय जिम्मेवारी स्थानीय प्रहरी इकाई प्रमुखले लिनुपर्ने भएको छ । पछिल्लो समय स्थानीय स्तरमा घातक दुर्घटना बढेका छन् । नियमन कमजोर हुँदाको फाइदा उठाउने र सवारीसाधन नियमित जाँच नहुँदा दुर्घटना दोहोरिने गरेको छ ।

उक्त बैठकले सवारीसाधनले क्षमताभन्दा धेरै मालसामान तथा यात्रु बोकेर गुड्ने, मालसामान बोक्नेले यात्रु बोक्ने र यात्रु बोक्नेले मालसामान समेत बोक्ने गर्दा जोखिम बढेको भन्दै प्रहरीले नियमित जाँच गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार