सर्लाही – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालमा क्रिकेटको व्यावसायिक सम्भावना बढाएको बताएका छन् ।
उनले यस्ता प्रतियोगिताबाट खेल पर्यटनलाई बढावा दिने आधार तयार भएको उल्लेख गरे । एनपिएलमा जनकपुर बोल्ट्सले जित हासिल गरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले एनपिएलले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपालका खेलाडी थप तयार छन् भन्ने सन्देश संसारसामु पुगेको बताए ।
खेलले एकता, सद्भाव र सहिष्णुताको भावना विकसित गर्ने गरेको उल्लेख गर्दै उहाँले एनपिएल र यस्ता प्रतियोगिताले नेपाली क्रिकेटको अब्बल स्तरलाई दर्शाएको उल्लेख गरे । एनपिएलको अन्तिम तथा निर्णायक खेलमा जनकपुर बोल्ट्सको जितले प्रदेशका खेलाडीहरूको आत्मबल, प्रतिष्ठा तथा उत्साहमा वृद्धि भएको मुख्यमन्त्री सिंहको भनाइ थियो ।