सर्लाही – सिरहामा १ करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा नविल बैंकका तत्कालीन शाखा प्रमुख पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरस्थित भानु चोक शाखाका तत्कालीन शाखा प्रमुख किशोर साह रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीविरुद्ध उच्च अदालत, राजविराज इजलासबाट ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा मुद्दा परमादेश भएर आएको हो । साह मिर्चैयास्थित तत्कालीन नेपाल बंगलादेश बैंकको शाखा प्रमुख हुँदा ऋणको रकम ठगी गरेको भनी मुद्दा परेको प्रहरीले जनाएको छ ।
गोलबजारको सीता फुड एण्ड बेभरेजकी सञ्चालिका गोलबजार नगरपालिका-४ की सोमिन्द्राकुमारी साहले २०७८ सालमा सो बैंकबाट ऋण लिएको १ करोड ६० लाख रुपैयाँ आफूले खाताबाट झिक्नुआगावै साहले विभिन्न व्यक्तिको नाममा फर्जी चेकमार्फत झिकेको जाहेरीमा दाबी गरेकी छिन् ।
साहलाई शुक्रबार बेलुकी बैंकबाटै धनुषा प्रहरीको सहयोगमा पक्राउ गरिएको र उनलाई मिर्चैया ल्याइएको थियो। आइतबार जिल्ला अदालत, सिरहाबाट पाँच दिनको म्याद लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए ।