मलंगवा – सर्लाहीमा ट्याक्टरसंग स्कुटर ठोक्किँदा नगर प्रहरीको मृत्यु भएको छ। हिँजो ( सोमबार ) राति पूर्व पश्चिम राजमार्ग स्थित जिल्लाको हरिवन नगरपालिका–९, नोचामा ट्याक्टरमा स्कुटर ठोक्किँदा हरिवन नगरपालिका–८, निवासी २५ वर्षीय कवि रिखाम मगरको मृत्यु भएको हो।
दुर्घटनामा स्कुटरको पछाडी सवार हरिवन नगरपालिका–८, निवासी करिब ४० वर्षीय रामजी बस्नेत घाईते भएका छन्। अहिले उनको बाराको न्युरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मगरले चलाएको बागमती प्रदेश ०२–०२८ प ६५०८ नम्बरको स्कुटर इन्दुशङ्कर चिनी उद्योगमा उखु पुर्याएर फर्किएको ना ६ त ३०५० नम्बरको ट्याक्टरको पछाडि ठोकिएको थियो ।
दुर्घटनामा दुवै जना घाईते भएका थिए। उनीहरुलाई उपचारका लागि बाराको न्युरो अस्पतालमा लगिएकामा उपचारकै क्रममा मगरको मृत्यु भएको हो। मृतक मगर हरिवन नगरपालिकामा नगर प्रहरीको रुपमा कार्यरत थिए। मगरको मृत्युमा नगरपालिकाले आज शोक बिदा दिएको छ।