आज क्रिसमस मनाइँदै, देशभर सार्वजनिक बिदा

२०८१ पुष १०, बुधबार ०५:२४

सर्लाही – नेपालसहित विश्वभरका इसाई धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन्। अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा जिसस क्राइस्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन्।

दुई हजार वर्षअघि जेरूसेलमको बेथलेहममा मारियमको कोखबाट जिसस क्राइस्टको जन्म भएको मानिन्छ। ‘क्रिसमस डे’ का अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । क्रिसमस डेमा इसाई धर्मावलम्बीहरूले येशुको शिक्षा एवं उपदेशको मनन गर्नाका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदान प्रदान गर्छन्।

विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि नेपाल ख्रिष्टियन महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ ।

हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको नेपाल ख्रिष्टियन महासङ्घको दाबी छ । १५ हजारभन्दा बढी चर्च बनिसकेको पनि महासङ्घले बताउँदै आएको छ । नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको नेपाल ख्रिष्टियन महासङ्घले जनाएको छ । महासङ्घ मूल समारोह समितिको आयोजनामा दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार