बारा, धनुषा, मोरङ र बाँके जिल्लाका सशस्त्रका एसपी छानबिनका लागि हेडक्वाटर तानिए

२०८१ पुष १०, बुधबार १७:४१

सर्लाही – सशस्त्र प्रहरी बल, नेपालका बारा, धनुषा, मोरङ र बाँके जिल्लाका सशस्त्रका एसपी छानबिनका लागि हेडक्वाटर तानिएका छन्। छानबिनमा तानिनेहरुमा धनुषाका एसपी दर्शन गरी, मोरङका एसपी विश्व खड्का, बाराका एसपी सन्तोषबहादुर सिंह र बाँकेका एसपी बिमल डाँगी छन् ।

तराईका चार फरक जिल्लाका एसपीहरुलाई सशस्त्र हेडक्वाटर हल्चोक तानेर छानबिन सुरु गरिएको छ । गिरीलाई गत बिहीबार धनुषाबाट हेडक्वाटर तानेर छानबिन गरिएको छ । बाँकी तीन एसपीहरु भने गत सोमबार हेडक्वाटर तानिएका हुन् । उनीहरुमाथि केही बुझ्नुपर्ने भएकाले हेक्वाटर झिकाइएको बताईएको छ।

सशस्त्र प्रहरी उच्च स्रोतका अनुसार धनुषाका एसपी गिरीमाथि केही आर्थिक अनियमितताको आरोपमा उजुरी नै परेको छ। बाँकी तीन जनाको हकमा भने राजश्व गडबढी भन्ने आरोप छ। ‘अघिल्लो महिनाहरुको तुलनामा राजश्वमा कमी आएपछि हेडक्वाटर तानेर छानबिन गरिएको हो’ सशस्त्र प्रहरी उच्च स्रोतले भन्यो।

उनीहरुमाथि छानबिन भइरहेको भन्दै अहिले ती जिल्लाको एसपीको रुपमा कसैलाई पनि पठाइएको छ। छानबिनपछि निर्दोष देखिए उनीहरुलाई नै फिर्ता गरिने र दोषी देखिए कारबाही गरेर नयाँ एसपीहरु पठाउने हेडक्वाटरको तयारी छ । सशस्त्र प्रहरी प्रमुख आईजी राजु अर्यालले अर्थिक अनियमिततमा जिरो टोलरेन्स अनुसार कारबाही गरिने सार्वजनिक रुपमा पटक पटक बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार