धमाधम बन्द गरिँदै अवैध क्रसर उद्योग

२०८१ पुष १०, बुधबार २१:२९

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाहीले मापदण्डविपरीत जिल्लामा सञ्चालित क्रसर उद्योगहरु धमाधम बन्द गर्दै छ। पछिल्लो दुई हप्तामा मात्रै जील्लामा मापदण्डविपरीतका ८ वटा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिइएको छ भने एउटा अवैध क्रसर उद्योगबाट उपकरण तथा सवारी बरामद गरिएको छ।

जिल्ला अनुुगमन समितिको टोलि जिल्लामा रहेका क्रसर उद्योगमा स्थलगत अनुुगमन गर्दै अनुगमनका क्रममा मापदण्डविपरितका उद्योगलाई बन्द गर्न निर्देशन दिने गरिएको छ। यहि क्रममा अनुगमन समितिले आज (बुधबार) एकैदिन जिल्लामा मापदण्ड पूरा नगरेका चार वटा उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ।

ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्वन्धि पहिलो संशोधन मापदण्ड २०७९ ले तोकेका मापदण्ड पूरा नगरेका फूलजोर बाबा बालुवा तथा गिट्टी प्रशोधन उद्योग ईश्वरपुर ५, शुुभम एग्रिगेट इण्डष्ट्रिज ईश्वरपुर ५, सिद्धिविनायक एग्रिगेट इण्डष्ट्रिज हरिपुुर ८ र राजदेवी माई बालुवा गिट्टी ढुंगा वासिङ्ग प्रालि हरिपुर ५ लाई पत्र दिएर तत्काल उद्योग बन्द गर्न आज निर्देशन दिइएको हो।

यस्तै अनुगमन समितिले गत पुस ६ गते लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित प्रिन्स क्रसर उद्योग र बागमतीका दुुईवटा क्रसर उद्योगलाई मापदण्ड विपरीत रहेको भन्दै बन्द गर्न निर्देशन दिएको थियो। बागमती नगरपालिका–६, चन्दनघाटमा अवैध रुपमा संचालनमा रहेको ‘मोवाइल क्रसर’ बाट ट्याक्टरमा जडान गरेर यताउता हिँडाउन मिल्ने क्रसर एक थान, ट्याक्टर तीन थान र स्काभेटर एक थान बरामदसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार