सर्लाही – बारा प्रहरीले १४२ किलो अबैध लागु औषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ७ खजानीस्थित कोतवालीबाट प्रहरीले १४२ किलो गाँजासहित एउटा मोटरसाईकल नियन्त्रणमा लिएको हो।
बारा प्रहरीका अनुसार शंकास्पद अवस्थामा बिआर २२ एक्यु २९७६ नम्बरको भारतीय मोटरसाइकल भेटिएपछि प्रहरीले चेकजाँच गरेको थियो। सोहि क्रममा मोटरसाइकलमा राखिएको सामग्री जाँच गर्दा प्लास्टिकका तीन बोरा र त्यसमा राखिएका ९ वटा पोका गरी १४२ किलो गाँजा भेटिएको हो।
उक्त मोटरसाइकलका चालक प्रहरी देख्न बितिक्कै भागेको बताईएको छ। बरामद गरिएको मोटरसाइकल र गाँजालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।