सर्लाही – निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी सुस्ता गाउँपालिका-५ बेलवानी बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार सारु मगर र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी मगर रहेका छन्।
प्रहरीका अनुसार ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि उनीहरुलाई पक्राउ गरिएको हो। गत पुस १३ गते अमन र राजकुमारले नारायणी नदीको छेउ ठांडीघाटस्थित ५ नम्बर ठोक्कर नदीको छेउमा कुकुर र कुकुरका बच्चा मार्दै गरेकोमा भिडियो बनाई आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट पोष्ट गरेका थिए ।
त्यसपछि उक्त भिडियोपछि कुकुर मार्नेहरुको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने आवाज चर्को गरी उठेको थियो । यसरी निर्मम तरिकाले कुकुर र कुकुरका बच्चा मार्नु र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राख्ने कार्य मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उल्लङघन देखिएको भन्दै सो कसुरमा संलग्न दुई जनालाई आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।