![](https://dhadkanfm.com.np/wp-content/uploads/2025/01/Blue-Modern-Dance-Channel-Youtube-Banner-1-3.jpg)
सर्लाही – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लो समय अनलाइनबाट हुने ठगीबाट जोगिन अनुरोध गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले शुक्रवार एक विज्ञप्ति सार्वजनिक गर्दै सचेत रहन आग्रह गरेका छन् ।
विज्ञप्तिअनुसार हाल ई सेवा, खल्ती जस्ता वालेट, बैङ्क तथा वित्तीय संस्थाको लोगो राखेर ती संस्थाको आधिकारिक व्यक्ति हुँ भन्दै फोन गर्ने, व्यक्तिगत खाताको गलत पासवर्ड पटक पटक राखेर ‘टेम्पोररी क्लोज’ गराउने र त्यही समय प्रयोगकर्तालाई फोन गरी तपाईँको खातामा समस्या छ भनेर ओटिपी नम्बर मागी रकम चोर्ने गरेका घटना देखिएका छन् । यस्तै अनलाइन व्यापारका नाममा अनेक किसिमका ठगी धन्दा चलाउने जस्ता पनि घटिरहेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै घटनाहरूबाट हालसालै पोखरामा ५७ लाख, चितवनका १६ लाख, नेपाल सरकारकै कर्मचारीको ५ लाख५० हजार गरी करोडौँ ठगिएका घटना देखिएको पनि सिआइबीले जनाएको छ । ‘यस्तो कार्यमा हालसम्म ५०० भन्दा बढी सन्दिग्ध फोन नम्बरहरू सक्रिय भएको हुँदा यस्ता अपरिचित नम्बरबाट आएको फोन तथा मेसेजहरू नउठाउन र रिप्लाई नदिन’ सिआइबीले आग्रह गरेको छ ।