एजेन्सी, नयाँ दिल्ली – भारतमा ७०० भन्दा बढी युवतीलाई ‘ब्ल्याकमेल’ गरेको आरोपमा युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा यमुनापारको शकरपुर गाउँ निवासी २३ वर्षीय तुषार बिस्ट रहेका छन्।
उनले १८ देखि ३० वर्षका युवती तथा महिलासँग मित्रता गरी विश्वासमा लिने र नग्न फोटो हासिल गरी ‘ब्ल्याकमेल’ गर्दै आएको आरोप छ । उनले आफू अमेरिकामा रहँदै आएको बताउने गरेका थिए । उनले भर्चुअल अन्तर्राष्ट्रिय मोबाइल नम्बर र एक ब्राजिलियन मोडलको तस्बिर प्रयोग गरी नक्कली प्रोफाइल बनाएका थिए ।
विभिन्न युवतीलाई विश्वासमा लिएर उनले च्याटिङ गर्ने तथा अन्तरङ्ग फोटो तथा भिडियो हासिल गरेपछि ‘ब्ल्याकमेल’ गर्दै आएको प्रहरीको भनाइ छ । पूर्वी दिल्लीको स्कुल ब्लकमा रहँदै आएका उनी नोएडाको एउटा कम्पनीमा काम गर्दै आएका थिए।
बिस्टले ब्ल्याकमेल गरेकै एक युवतीले १३ डिसेम्बरमा साइबर थाना पुलिसमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । उनको मोबाइलबाट ६० भन्दा बढी च्याटिङ डेटा प्राप्त भएको प्रहरीले जनाएको छ ।