सर्लाही – लगातारको बाक्लो हुस्सु कुहिरोले सर्लाहीसहित मधेशको जनजीवन प्रभावित भएको छ । बिगत एक हप्तादेखि नै सर्लाहीसहित मधेशका जिल्लाहरुका केहि स्थानमा लगातार बाक्लो हुस्सु कुहिरो लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्।
चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरु बढी प्रभावित भएका छन् । चिसोले घर बाहिर निक्लिनै मुश्किल परिरहेको छ। यस्तो अवस्थामा चिसोबाट बच्न बिभिन्न सरोकारवाला निकायाहरुले अनुरोध गरेका छन्, यसका साथै केहि पालिहरुले आफ्नो पालिका भित्रका चोक तथा मानिस भेला हुने स्थानहरुमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था मिलाएका छन्।
केहि पालिकाहरुले त्यस्तो कार्य गरेता पनि सर्लाहीका पश्चिमी भेगका अधिकांश पालिकाहरुले दिनानु दिन बढ्दै गईरहेको जाडोबाट सर्वसाधारणलाई बचाउँन कुनै चासो नदेखाएको जस्तो देखिएको छ। बिगतमा भने यस्तो अवस्थामा चोकहरुमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था मिलाउनुका साथै, आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण गर्ने गरेका थिए।