जाजरकोट भूकम्प: बिभिन्न माग राख्दै राप्रपा जाजरकोटले बुझायो ज्ञापन पत्र

२०८१ पुष २४, बुधबार २१:४८

सर्लाही – जाजरकोट भूकम्पका पिडितहरुलाई तत्काल टहरा निर्माण वापतको दोस्रो किस्ता उपलब्ध गराउँनसहित बिभिन्न माग राख्दै रास्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल जिल्ला कार्य समिति जाजरकोटले जिल्लाको नलगाड नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ।

भूकम्प गएको १५ महिना बितिसक्दा पनि पीडितका पिडा सरकारले नबुझेको र आश्वसन दिएपनि समस्या समाधान नगरेको र उक्त समस्याहरु तत्काल समाधान गर्न मागसहित ज्ञापन पत्र बुझाईएको हो।

ज्ञापन पत्रमा नलगाड नगरपालिका १३ वादमा यहि २५ गते भित्र भूकम्प पिडितलाई दोस्रो किस्ता उपलब्ध गराउँनु पर्ने, पुष महिना भित्रै भूकम्प पूर्णनिर्माणको काम सुरु गर्नु पर्ने, पालिका भित्र भूकम्पले भत्किएका मठ मन्दिरहरु निर्माण गर्नु पर्ने, बस्ति हस्तान्तरण गर्नु पर्ने स्थानमा तत्काल बस्ति हस्तान्तरण गर्नु पर्ने माग छन्।

यदि उक्त मागहरु सम्बोधन नभए पार्टीको जिल्ला कार्य समितिले चरणबद्व रुपमा आन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख छ। गत बर्षको कार्तिक १७ गते शुक्रवार राती ११ बजेर ४७ मिनेटमा जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

उक्त भूकम्पमा परि जाजरकोटमा मात्रै १०१ जनाको मृत्यु भएको थियो भने, त्यसको केहि दिनपछि चिसोले कठ्याङ्ग्रिएर ४३ जनाको र बर्सात्को समयमा बाढी पहिरोमा परि १२ जना भूकम्प पिडितको मृत्यु भएको थियो। भूकम्पपछि अनुगमनका लागि तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल, रास्ट्रपति रामचन्द्र पौडेलसहित बिभिन्न मानिस गए आश्वासन दिए, तर पीडितका समस्या अझै उस्तै छन।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार