विश्वमा कुन देशको पासपोर्ट कति शक्तिशाली ? नेपाल १०१ औं स्थानमा

२०८१ पुष २५, बिहीबार १२:२३

सर्लाही – सिंगापुरको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । अर्थात् यी देशका नागरिकले बिना भिसा १९५ देशको यात्रा गर्न सक्छन् ।

पासपोर्ट र्याङ्किङ जारी गर्ने संस्था हेन्ले एन्ड पार्टनर्सले सन् २०२५ को लागि पासपोर्ट सूचकांक जारी गरेको छ । यस सूचीमा गत बर्ष फ्रान्ससहित जर्मनी, इटाली, जापान, सिंगापुर र स्पेन संयुक्त रुपमा शिर्ष स्थानमा रहेका थिए । त्यसैगरी जापानको पासपोर्ट यस सूचीमा दोस्रो स्थानमा रहेका छन् । जापानका नागरिकले १९३ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन ।

त्यस्तै फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, दक्षिण कोरिया र स्पेन यस सूचीमा संयुक्त रुपमा तेस्रो स्थानमा छन् र यी देशका नागरिकले १९२ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन । त्यस्तै अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, लक्जेम्बर्ग, नेदरल्याण्डस, नर्वे र स्विडेन संयुक्त रुपमा चौथो स्थानमा रहेका छन् र यी देशका नागरिकले १९१ देशमा अग्रिम भिसा नलिएर नै यात्रा गर्न सक्छन । यस सूचीमा बेलायत पाँचौं स्थानमा रहेको छ भने अस्ट्रेलिया छैटौं, क्यानाडा सातौं र अमेरिका नवौं स्थानमा रहेका छन् ।

त्यस्तै नेपालको पासपोर्ट भने यस सूचीमा १०१औं स्थानमा रहेको छ । यस अघि २०२४ मा नेपाल ९८औं स्थानमा रहेको थियो । गत बर्षभन्दा नेपालको पासपोर्ट झन् कमजोर बनेको छ । यस सूचीमा छिमेकी देश भारत ८५औं स्थानमा रहेको छ भने चीन ६०औं स्थानमा रहेको छ । त्यस्तै सार्क देश बंगलादेश १००औ स्थानमा छ भने पाकिस्तान १०३औं स्थानमा रहेको छ । यस सूचिको पुछारमा १०६औ स्थानमा अफगानिस्तान रहेको छ र विश्वको सबैभन्दा कमजोर पासपोर्टको सूचीमा रहेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार