सर्लाही – आउँदो माघ ५ गतेदेखि मलेसियामा हुने यू-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाई गरेका हुन् ।
समूह ‘डी’ मा रहेको नेपालले जनवरी १८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ । दोस्रो खेल जनवरी २० मा स्कटल्याण्ड र तेस्रो खेल जनवरी २२ मा अष्ट्रेलियासँग खेल्नेछ । विश्वकपका खेलअघि नेपालले दुई वार्मअप खेल पनि खेल्नेछ ।
नेपाली टोली:
पूजा महतो (कप्तान),सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, अलिशा कुमारी यादव,सावित्रा धामी, तृषना विक, किरन कुमारी कुवँर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा,अनु कडायत र कृष्मा गुरुङ ।