मिथिलाञ्चलमा तिला सङ्क्रान्ति मनाइँदै

२०८१ माघ १, मंगलवार ०६:३९

सर्लाही – मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति (माघेसङ्क्रान्ति) पर्व मनाइँदैछ । यस पर्वमा प्रत्येक वर्ष माघ १ गतेका दिन यस क्षेत्रका प्रत्येक सदस्यले चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ भने खिचडी र दही, चिउराको भोजन गर्ने चलन रहेको छ।

मिथिला क्षेत्रमा अनादीकालदेखि माघ १ गतेको बिहान घरका सदस्य जागेर नित्यक्रमपछि नुहाउने र सोही बेलादेखि चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन रहेकाले बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलभरि तिला सङ्क्रान्ति मनाउन थालिएको हो।

घरका ज्येष्ठ सदस्यले अरबा चामल, तिल र सख्खर मिसाएर प्रसाद बनाई कुल देवतालाई चढाउने र पछि सोही सामग्रीबाट घरका सबै सदस्यलाई प्रसाद दिँदै (हमर तिल बहवे) अर्थात् ‘मेरो आउँदो दिनमा मलाई साथ दिन्छौँ, मैले भनेको गर्छौं’ भन्ने चलन रहेको छ। साथै, आज चिउरा, भुजा र तिलबाट बनाइएका विभिन्न प्रकारका लड्डुहरू घरका सबैले खानुका साथै आफन्त, नातेदार र कुटुम्बलाई पनि कोसेली पठाउने चलन रहेको छ।

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै, थारु समुदायले माघी मनाउने

आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेदका चिकित्सकको भनाइ छ । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ ।

यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा प्रयोग गरिन्छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्यागेका थिए ।

थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार