
सर्लाही – उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोनाम ल्होछारको शुभकामना दिएका छन् ।
शुभकामना सन्देश जारी गर्दै नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने बताएका छन् ।
तामाङ समुदायले सोनाम ल्होछार पर्वलाई नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाउने गर्दछन। यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् ।
देशका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् । यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्रि केपी शर्मा ओलीलगायतले सोनाम ल्होछारको शुभकामना दिएका छन् ।