सर्लाही – जनमत पार्टीका अध्यक्षसमेत रहेका सांसद सीके राउतले संघीय संसद्मा गैरसरकारी विधेयक दर्ता गरेका छन् ।
राउतले ‘जाति, लिंग, क्षेत्र, राष्ट्रियता वा उत्पत्तिमा आधारित भेदभाव, कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ नाम दिइएको विधेयक दर्ता गरेका हुन् । विधेयकमा सबै विभेदलाई मानव अधिकारविरुद्धको विभेद मानेर कडा कारबाही गर्न प्रस्ताव गरिएको छ ।

कुनै पनि व्यक्तिलाई जाति, वंश, समुदाय, रंग, क्षेत्र, भेषभूषा वा राष्ट्रियता वा उत्पत्तिको आधारमा भेदभाव गर्न नपाइने र त्यस्तो काम राज्यबाट हुने कदमबाट ठहरे पनि कारबाही हुने प्रस्ताव विधेयकमा गरिएको छ । विधेयकमा ‘जातीय समूह वा समूहहरूका सदस्यहरू स्वेच्छाचारी पक्राउ गरी गैरकानुनीरूपमा थुनामा राख्ने’ कार्यलाई पनि कसुर हुने प्रावधान समेटिएको छ ।
उनले देश छोड्ने वा फर्किने कुरालाई पनि कानुनी अधिकारका रूपमा उल्लेख गरेका छन् । स्वतन्त्ररूपमा आवागमनलाई मात्र नभएर देश छाड्ने वा चाहेको बेला फर्कने विषयलाई अधिकारका रूपमा प्रस्ताव गरेका उनले क्षेत्रीय र जातीय अधिकारलाई राज्यले पनि हस्तक्षेप गर्न नपाउने प्रस्ताव गरेका छन् । – बाह्रखरी





