महोत्तरीमा ड्युटीमै रहेका प्रहरी असइको मृत्यु

२०८१ माघ २४, बिहीबार ११:३०
file image

सर्लाही – महोत्तरीमा ड्युटीमै रहेका प्रहरी असइको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक(असइ) सुरेन्द्र राम चमारको अचानक मृत्यु भएको हो।

प्रहरीका अनुसार बुधवार साँझ ५ बजे ड्युटीमै रहेका बेला अचानक श्वास लिन समस्या भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएकाे थियाे । पछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। र सोहि अस्पतालमा उनको उपचारका क्रममा साँझ ६:१५ मा उनकाे मृत्यु भएको हो।

चिनी तथा ब्लड प्रेसर रोगबाट पीडित रहेका असइ चमारलाई अचानक श्वास लिन समस्या भएपछि चिकित्सकले सिपिआर सहितको कृत्रिम माध्यमले अक्सिजन पुर्ति गर्ने प्रयास गरेपनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुप्रसाद जयसवारले बताए ।

२३ वर्ष १० महिना ८ दिन प्रहरीमा सेवा गरेका असइ चमार ७ महिना पहिले सिन्धुपाल्चोकबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय महोत्तरी आएका थिए ।प्रादेशिक अस्पताल जनकपुरमा मृतक प्रहरीको पोष्टमार्टम पछि शव परिवारको जिम्मा लगाउने तयारी भैरहेको डिएसपी जयसवारले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार