
सर्लाही – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापालाई मुद्दा मामिलाको डर देखाएर एमालेमा प्रवेश गर्न दवाव दिएको आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्ने क्रममा उनले हाल निलम्बित अवस्थामा रहेका मेयर थापाको नाम नलिइ उनलाई मुद्दा मामिलाको डर देखाएर सत्ताधारी दल एमालेले धम्क्याउने र तर्साउने काम गरिरहेको आरोप लगाएका हुन्।
उनले माओवादी केन्द्रबाट निर्वाचित मेयर थापालाई एमालेका नेताहरुले आफ्नो पार्टीमा आए मात्रै बचाउाउन सकिने, माओवादी केन्द्रमै बस्ने हो भने मुद्दा, मामिलाबाट बचाउन नसकिने भनेर धम्क्याउने काम भइरहेको आरोप लगाए। प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा मुख्य सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा बैठक राखेर मेयर थापासहितका जनप्रतिनिधिलाई वन र भ्रष्टाचार मुद्दामा फसाउने प्रयास भइरहेको प्रचण्डको भनाई छ।
सर्लाहीको बागमती नगरपालिकाका हजारौँ सुकुम्बासीले तिसौँ वर्षदेखि जोतभोग र आवाद गरेको जग्गा खाली गरेर सरकारले आफ्नो पार्टीबाट निर्वाचित मेयर, उपमेयरसहितका जनप्रतिनिधिलाई वन मुद्दामा फसाउने प्रयास गरिरहेको पनि उनले बताए। ‘०७४ सालमा चुनाव जितेर मेयर भएको, अनि बिकासलाई द्रुत गति दिएको, राष्ट्रिय संस्कृतिको जगेर्ना गरेर राष्ट्रिय एकता प्रवद्र्धन गर्न खोजेर रेकर्ड बनाएको पालिका हो बागमती,’ प्रचण्डले भने, ‘म अहिले सिधै आरोपित त गर्न सक्दिन।
तर, मैले धेरै जिम्मेवार नेताहरुबाट सुनिरहेको छु, त्यस पालिकाका मेयर नेकपा एमालेमा आउने हो भने अख्तियारमा भएको, वनको पनि मुद्दामा सफाइ गरिन्छ, माओवादीमै बस्ने हो भने बचाउन सकिँदैन भनिँदैछ रे! यही हो सरकारको निस्पक्षता? म सबै माननीय सदस्यहरुलाई मेरो यो कुरा गम्भीर रुपमा लिन आग्रह गर्दछु। खासगरि माननीय मन्त्रीज्यूहरुलाई यो विषय गम्भीर रुपमा हेरिदिन अनुरोध गर्दछु।’ पछिल्लो समय माओवादी केन्द्र सर्लाही पनि बागमतीका मेयर थापा, उपमेयर लीला मोक्तानसहितलाई राजनीतिक प्रतिशोध राखेर सरकारले फसाउने षड्यन्त्र गरिरहेको भन्दै आन्दोलित छ। – नेपाल खबरबाट