अमलेखगंज ट्राफिक प्रहरीद्वारा भारतीय गाडीबाट जबरजस्ती असुली, विवादित हवल्दार शाहको संलग्नता

२०८१ माघ २६, शनिबार २०:१५
ट्राफिक प्रहरी हवल्दार जितेन्द्र प्रसाद शाह

सर्लाही – अस्थायी ट्राफिक प्रहरी पोस्ट अमलेखगंजका ट्राफिक प्रहरीले भारतीय सवारीसाधनहरूबाट जबरजस्ती पैसा असुली गरिरहेको आरोप लागेको छ।

यात्रुहरूका अनुसार, सम्पूर्ण कागजातहरू सही भए तापनि ट्राफिक प्रहरीले विभिन्न बहानामा पैसा माग्ने गरेको छ। यदि पैसा नदिएमा घण्टौंसम्म गाडी रोकिदिने तथा अनावश्यक हैरानी दिने गरिएको गुनासो बढ्दै गएको छ।

यसै सन्दर्भमा, ट्राफिक प्रहरी हवल्दार जितेन्द्र प्रसाद शाहको नाम पुनः विवादमा आएको छ। विभिन्न स्थानमा विवादित रहँदै आएका शाह पैसा असुली गर्न माहिर मानिन्छन्। पूर्व-पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनहरूबाट उनले हाकिमकै नाममा असुली गर्ने गरेको एक व्यवसायीले खुलासा गरेका छन्।

शनिवार बिहान, भारतीय नम्बर प्लेट भएको स्कारपियोमा पश्चिमबाट पूर्व जाँदै गरेका एक जना पत्रकारसँग हवल्दार शाहले दुई सय झुकिएर पैसा मागेका थिए। पत्रकारले प्रतिकार गरेपछि विवाद उत्पन्न भएको थियो।

उक्त विवादपछि त्यहाँ रहेका अन्य गाडीका चालकहरूले पनि ट्राफिक प्रहरीको अवैध असुलीको विषय खुलासा गरेका थिए। ती पत्रकारसँग भन्सारदेखि लिएर आवश्यक सबै कागजात भए तापनि ट्राफिक प्रहरीले ‘यो मान्छे भारतबाटै आएको हुन सक्छ’ भन्दै जबरजस्ती पैसा असुली गर्न खोजेको आरोप लागेको छ।

स्थानीय यात्री तथा व्यवसायीहरूले यस्ता अवैध गतिविधिहरू तत्काल रोक्न माग गर्दै सम्बन्धित निकायले उचित छानबिन गर्नुपर्ने बताएका छन्। ट्राफिक प्रहरी प्रशासनले यस्ता घटनालाई गम्भीर रूपमा लिएर कारबाही नगरे यात्रुहरूले अझ बढी समस्याको सामना गर्नुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार