
सर्लाही – राज्यबाटै असुरक्षित भएपछि काठमाडौंमा लुकीछिपी बस्दै आएका अन्तरजातीय दम्पती सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारको न्यायका लागि चौतर्फी आवाज उठेसँगै दबाबमा परेको सरकारले उनीहरूलाई पूर्ण सुरक्षा हुने ग्यारेन्टी दिएर सर्लाही बरहथवास्थित घर पठाएको छ ।
आइजिपी वसन्तबहादुर कुँवरले प्रहरी संगठनमै रहेका सत्येन्द्रका बुबा इन्दल रामलाई छोरा–बुहारी घर लैजान दबाब दिएपछि सोमबार परिवारका सबै सदस्य बरहथवा– १०, कटानीस्थित घर गएका हुन् । सत्येन्द्र र नेहालाई छुटाउन गृहमन्त्री रमेश लेखकको आदेश र आइजिपी कुँवरको निर्देशनमा बम्बईसम्म प्रहरी पुगेर कुटपिट गर्दै पक्राउ गरेको, बालविवाहको झुटा मुद्दा चलाएको विषय सडकदेखि सदनसम्म उठेपछि सरकार दबाबमा परेको थियो ।
गृहमन्त्रीमाथि संसदीय समिति बनाएर छानबिन गर्न सांसदहरूले संसद्मै आवाज उठाएका छन् भने अधिकारकर्मीहरूले उनीमाथि अनुसन्धानका लागि सरकारी वकिलको कार्यालयदेखि मानव अधिकार आयोगसम्म उजुरी दिएका छन् । चौतर्फी दबाब बढ्न थालेपछि आइजिपी कुँवरले इन्दललाई छोरा–बुहारी घर लैजान दबाब दिएका थिए । राष्ट्रिय मानव अधिकार आयोगले पनि सत्येन्द्रको परिवारलाई सुरक्षा दिन आइतबार मात्र प्रहरीलाई पत्राचार गरेको थियो ।
बुवा–आमासहित काठमाडौंबाट गाडी रिजर्भ गरेर गएका सत्येन्द्र र नेहालाई बरहथवा बजार पुगेपछि सर्लाही प्रहरीले स्कर्टिङ गरेर घर पुर्याएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्रकुमार सिंह, सशस्त्र प्रहरीका एसपी विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका डिएसपी रामरिझन यादवलगायतको टोली घरमै पुगेर पूर्ण सुरक्षाको ग्यारेन्टी गरेको सत्येन्द्र र नेहाले बताएका छन् । सुरक्षाका लागि घरमा दुईजना प्रहरी खटाइदिएको पनि उनीहरूले बताए ।
तर, आफूहरूको शान्तिसुरक्षासँगै सर्लाही जिल्ला अदालतमा दर्ता भएको बालविवाहको झुटा मुद्दा खारेज तथा मुद्दा दर्ता गर्नेलाई कारबाही हुनुपर्ने, पटक–पटक पक्राउ गरेर कुटपिट गर्ने प्रहरी तथा उनीहरूलाई निर्देशन दिने आइजिपीदेखि गृहमन्त्रीसम्मका उच्च अधिकारीमाथि छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । – नयाँ पत्रिकाबाट