
मलंगवा – सर्लाहीका विभिन्न स्थानीय तहमा रेबिजविरुद्धको भ्याक्सिनको चरम अभाव देखिएको छ। सरकारी अस्पतालहरूमा भ्याक्सिन नपाउँदा सर्वसाधारण महँगो शुल्क तिरेर निजी क्लिनिक जान बाध्य भएका छन्।
जनस्वास्थ्यका लागि अनिवार्य मानिने यो भ्याक्सिन समयमै उपलब्ध नभएकाले ग्रामीण भेगका सर्वसाधारण बढी मारमा परेका छन्। सरकारी अस्पतालले २०० रुपैयाँमा दिने भ्याक्सिन निजी क्लिनिकबाट ६५० तिरेर सर्वसाधारण निजी क्लिनिक जान बाध्य भएका छन्।
जिल्लाका सरकारी स्वास्थ्य संस्थाहरूमा रेबिज भ्याक्सिनको अभाव निरन्तर देखिंदै आएको छ। बरहथवा नगर अस्पताल, ईश्वरपुर, लालबन्दी, हरिवन, बलरा, र मलंगवाको प्रादेशिक अस्पताललगायतका केन्द्रहरूमा भ्याक्सिन आउने भए पनि धेरैजसो समय पर्याप्त नहुने गुनासो छ।
सर्लाहीका सरकारी अस्पतालहरूले रेबिज भ्याक्सिनको आपूर्ति व्यवस्था सुधार्न सरकारसँग माग गरेका छन्। तर, हालसम्म समाधान नआएकाले सर्वसाधारणले महँगो शुल्क तिरेर निजी क्लिनिक धाउन बाध्य छन् । सर्लाहीसहित मधेस प्रदेशका पर्सा, बारा, रौतहट लगायतका जिल्लामा रेबिज भ्याक्सिनको अभाव देखिएको छ।