
सर्लाही – आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर महाशिवरात्रि पर्व मनाइँदै छ । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिलाई शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएकाले यो पर्व कालरात्रि (बडादशैँको अष्टमीको रात), मोहरात्रि (कृष्ण जन्माष्टमीको रात), सुखरात्रि (लक्ष्मी पूजाको रात) र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइने शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रिको दिन बिहानदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् । यस दिन अञ्जानमै भए पनि भगवान् शिवको पूजा गरिए महापुण्य हुने विश्वास रहेको छ।
महाशिवरात्रिका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वाससमेत रहेको उहाँको भनाइ छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।