
सर्लाही – मोटरसाइकल चोरीमा संलग्न सर्लाहीका एकसहित तिन जना काठमाडौंबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल काठमाडौँको जोरपाटी बस्ने १८ वर्षीय रवि कुमार चौधरी, पाल्पाको तानसेन नगरपालिका ६ घर भई हाल काठमाडौँको नयाँबस्ती बस्ने १९ वर्षीय मनिष थापा मगर र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका १ घर भई हाल काठमाडौँको नयाँपाटी बस्ने २० वर्षीय विशाल तामाङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरुलाई हिजो साँझको समयमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर प्रदेश २-०२-००४ प ६६५० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०१७ प ७५ ०५ राखी चलाइरहेको अवस्थामा हिजो साँझ ५ बजे चौधरीलाई काठमाडौँको चाबहिल गंगाहिटीमा फेला पारी सोधपुछ गर्दा उक्त मोटरसाइकल तामाङले दिएको भनी जानकारी गराउनसाथ तामाङलाई पनि काठमाडौँको जोरपाटी नयाँ बस्तीबाट नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका लागि मोटरसाइकलमा पछाडि सवार थापा मगरलाई नियन्त्रणमा लिएको बताइएको छ । उक्त मोटरसाइकल काठमाडौँको नरेफाँटबाट हराएको भनी नरेफाँट बस्ने सोनु कारकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ।