
सर्लाही – मिथिलाञ्चलमा १५ दिने मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमाका लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो । फागुने औँसीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु १५ ठाउँमा विश्राम गरी १३३ किलो मिटर पैदल यात्रा गर्छन् ।
आज दिउँसो जनकपुरधाम आइपुग्ने मिथिला बिहारीको डोला अग्निकुण्डमा विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको अन्य मठमन्दिरको डोला हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि शुक्रबार परिक्रमा भारत विहारको कलनस्थित कल्यानेश्वरका लागि प्रस्थान गर्ने छ ।
१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्य परिक्रमा सम्पन्न हुनेगर्दछ ।
डोलामा परम्परागत बाजाँगाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् । वृहत्त, मध्य र अन्तरगृह गरि तिन प्रकारको परिक्रमा गरिन्छ ।