
सर्लाही – सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुर्याएको बताईएको छ। शुक्रबार बिहान २ः५१ बजे गएको भूकम्पको झड्का देशभरसहित भारत र चीनमा समेत महशुस गरिएको थियो।
हालसम्म मानवीय क्षतिको कुनै ठोस विवरण नआएको तर, भूकम्पको कारण आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जनाकारी दिए।
उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यस घटना बाहेक अन्य गम्भीर क्षतिको कुनै जानकारी प्राप्त भएको छैन । भूकम्पका कारण जिल्लाका केही भौतिक संरचनामा सामान्य क्षति पुगेको छ । विशेषगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको पुष्टि भएको छ ।
प्रहरी जवानहरू बस्ने भवनको भित्ता सामान्य रूपमा क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन् । त्यस्तै, भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढी क्षेत्रमा पहिरो खसेको छ । यस क्षेत्रको स्थलगत निरीक्षण गरी थप विवरण संकलन गरिने तथा अन्य क्ष्यतिबारे थप विवरण संकलन हुँदै गरेको स्थानीय प्रशासनले जनाएको छ।