सर्लाही – मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई बर्खास्त गर्ने निर्णय भएको छ । मंगलबार जनकपुरधाममा भएको विश्वविद्यालयको सभाबाट उपकुलपति डा.वैजनाथ महतो र रजिष्ट्रार श्रीभगवान ठाकुरलाई बर्खास्त गर्ने निर्णय भएको हो ।
नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहको नेतृत्वमा गठित तीन सदस्य समितिले ७ असोजमा बुझाइएको प्रतिवेदनको आधारमा दुवैजना विश्वविद्यालयको अनाधिकृत गतिविधिमा संलग्न रहेको पाइएकाले विश्वविद्यालय सभाले दुवै जनालाई बर्खास्त गर्ने निर्णय भएको बताईएको छ ।

दिउँसो १२ बजेदेखि जनकपुरको एक होटेलमा चलेको विश्वविद्यालय सभा राति ११ बजेसम्म चलेको थियो । सभामा विश्व विद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री सतिशकुमार सिंह, सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीलगायत विश्व विद्यालय सभाका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए । चालु आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम समेत सभाबाट पास भएको छ ।





