कमिसन बाडफाँडको कुरा नमिल्दा चन्द्रनगर गाउँपालिकाका प्रशासकीय अधिकृतको सरुवा, यादवले पाए जिम्मेवारी

२०८१ फाल्गुन २१, बुधबार १०:४७
तस्बिर: क्रमस: सरुवा भएका प्रशासकीय अधिकृत वकिल पाल, अध्यक्ष राजकुमार यादव र राजेश यादव

मलङ्गवा – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा कमिसन विवाद चुलिँदा प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालको पाँच महिनामै सरुवा गरिएको छ ।

विकास निर्माण योजना, ठेक्का प्रक्रिया तथा बजेट निकासा सम्बन्धी आर्थिक लेनदेनमा असहमति भएपछि गाउँपालिका अध्यक्ष राज कुमार महत्तोले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दबाब दिएर पालको स्थानान्तरण गराएको स्थानीय स्रोतहरूले बताएका छन् ।

गाउँपालिकामा सञ्चालन भइरहेका ठूला विकास योजनाहरूमा कमिसनको प्रतिशत मिलाउन नसक्दा अध्यक्ष महत्तो र प्रशासकीय अधिकृत पालबीच विवाद चर्किएको थियो । स्रोतका अनुसार, अध्यक्ष महत्तोले गाउँपालिकाका इन्जिनियर राजेश कुमार यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत नियुक्त गराएर प्रशासनमा आफ्नो पकड बलियो बनाउन खोजेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत पालले आफ्नो सरुवा रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र लेखेका थिए, जसलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रक्रिया अघि बढाएको थियो । तर, अध्यक्ष महत्तोले एक निर्माण व्यवसायीमार्फत मन्त्रालयका कर्मचारीहरूमाथि दबाब सिर्जना गरी इन्जिनियर यादवलाई प्रमुख प्रशासकीय अधिकृत बनाउन सफल भएका छन् ।

गाउँपालिकामा करीब रु ५ करोडको निर्माण कार्य गरिरहेका ती व्यवसायीको भुक्तानी प्रमुख प्रशासकीय अधिकृत पाल र अध्यक्ष महत्तोबीच कमिसन मिल्न नसकेका कारण रोकिएको स्रोतले जनाएको छ । कमिसनको भागबण्डा नमिल्दा भएको प्रशासनिक अस्थिरताका कारण गाउँपालिकाका कर्मचारीहरू, शिक्षकहरू र लाभग्राहीहरू प्रभावित भएका छन्, जसले गर्दा उनीहरू समयमा तलब भत्ता पाउन सकेका छैनन् ।

सरुवापछि प्रमुख प्रशासकीय अधिकृत पालले आफ्नो जबरजस्ती स्थानान्तरण गराई भ्रष्टाचार मौलाउन खोजिएको आरोप लगाएका छन् । उनका अनुसार, अध्यक्ष महत्तोले स्वयं संलग्न रहेका अनियमितता र भ्रष्टाचारजन्य गतिविधिहरू ढाकछोप गर्न आफूलाई हटाएर आफ्नो नजिकका व्यक्तिलाई जिम्मेवारी दिएका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार