
सर्लाही – रौतहटको गौरस्थित गौर राइस मिलको जग्गा भूमाफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न माग गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएका छन्।
बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई गुप्तासहितको टोलीले ज्ञापन पत्र बुझाएका हुन्। एमाले नेता गुप्ताले प्रधानमन्त्री ओलीलाई भेटेर गौर राईस मिलको जग्गा भूमाफियाले बिक्री गर्न लागेकोमा तत्काल उक्त जग्गा रोक्का गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन ज्ञापनपत्र मार्फत माग गरेका छन् ।
उनि गौर नगरपालिकाका पूर्व मेयरसमेत हुन्। गौर राइस मिलको जग्गा बर्षों देखि सार्वजनिक रूपमा प्रयोग भई विभिन्न मेला महोत्सव, राजनीतिक सभा सम्मेलन, तथा क्रिकेट खेलाडीहरूको लागि खेल मैदानको रूपमा प्रयोग हुँदै आएको छ।
ज्ञापन पत्रमा भूमाफिया र गौर नगरपालिकाको मिलेमतोमा धेरै ठुलो आथिर्क चलखेल गरी सो जग्गा भागबन्डा गरी खेलमैदानको अस्तित्व नै समाप्त हुने गरी रौतहट वासीका सपनालाई धमिलो पार्ने उद्देश्यका साथ अगाडी बढेकोमा अविलम्ब सो जग्गा बिक्री वितरणमा रोक लगाइनु पर्ने उल्लेख गरिएको छ।