सर्लाहीमा प्रचण्ड : यस्तो छ दिनभरको कार्यक्रम

२०८१ फाल्गुन २३, शुक्रबार १०:०५

सरोज यादव, सर्लाही – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानैदेखि सर्लाहीमा कार्यकर्ता भेटघाट र विभिन्न कार्यक्रममा व्यस्त छन्। ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत हिजो साँझ हुलाकी सडक हुँदै सर्लाही प्रवेश गरेका प्रचण्डलाई स्थानीय कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।

बिहीबार राति पर्सा गाउँपालिका–४, कविलासीस्थित गाउँपालिका उपाध्यक्षका उम्मेदवार किरणदेवी यादवको घरमा बास बसेका प्रचण्ड बिहान पार्टीका नेताहरूसँग मर्निङ वाकमा सहभागी भएका थिए।

त्यसपछि विभिन्न स्थानमा कार्यकर्ता भेटघाट र जनसभा सुरु भएको माओवादी केन्द्र सर्लाहीले जनाएको छ। आज सर्लाहीमा नाढीमन ताल, प्रिपा, ब्रह्मपुरी, मलङ्गवा, खुटौना, कौडेना, गोडैता, गडहिया, बलरा, रामनगर, धनकौललगायतका एक दर्जनभन्दा बढी स्थानमा सभा र छलफल कार्यक्रम आयोजना गरिएको छ।

माओवादी केन्द्रले फागुन १२ गते झापाबाट सुरु गरेको जागरण अभियान हाल तराईका विभिन्न जिल्लाहरू हुँदै अघि बढिरहेको छ। अभियानलाई लक्षित गरी पूर्व–पश्चिम हुलाकी सडक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार