सर्लाही – बारामा बसको ठक्करबाट रौतहटका एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको फतुवा विजयपुर नगरपालिका-५ बैरगनियाका ३५ वर्षीय अनिलप्रसाद यादव रहेका छन्।
कलैया उपमहानगरपालिका-१४ स्थित बघवनमा शुक्रबार बिहान बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको ना ६ ख ५०६७ नम्बरको बसले यादव सवार ना ३९ प ७३६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनापछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएकमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यादवको शव परीक्षणका लागि कलैया अस्पतालमा राखिएको छ। मोटरसाइकललाई ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।





