सर्लाही – सर्लाहीमा अवैध तस्करी तथा व्यापारीहरूसँग प्रहरीको मिलेमतोमा असुली धन्दा निर्बाध रूपमा सञ्चालन भइरहेको खुलेको छ। ईलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी सहायक निरीक्षक गगनदेव भगत र प्रदेश प्रहरी कार्यालयका घुमुवा तेज नारायण यादवमाथि व्यापारीहरूसँग खुलेआम रकम असुली गरेको गम्भीर आरोप लागेको छ।
सर्लाहीका बलरा, फेनहरा, सिमरा, बहादुरपुर, मधुवनी गाउँ, अर्नाहा, छंकी टोला लगायतका सीमावर्ती नाकाहरूबाट अवैध तस्करी खुलेआम भइरहेको छ। स्रोतका अनुसार यी नाकाहरूबाट कपडा, किराना सामान, लाइटर, माछा, कबाड जस्ता सामग्री भारतबाट नेपाल ल्याइन्छ भने नेपालबाट गिट्टी, बालुवा र रक्सी भारततर्फ तस्करी गरिन्छ। व्यापारीहरूले प्रहरीका घुमुवाहरूको संरक्षणमा यी सम्पूर्ण तस्करी गतिविधिहरू सञ्चालन भइरहेको आरोप लगाएका छन्।
बरहथवामा तस्करी गरिएका सामग्रीहरू भण्डारण गरिन्छ र त्यहाँबाट देशभर आपूर्ति गरिने बताइएको छ। प्रहरी सहायक निरीक्षक तेज नारायण यादव तस्करीका गतिविधिमा मात्र होइन, प्रहरी विभागका विभिन्न तहसम्म सेटिङ मिलाउने काममा पनि संलग्न रहेको बताइएको छ। उनी ईलाका प्रहरी कार्यालय बरहथवा सर्लाही मातहत रहेका प्रहरी चौकी शंकरपुरका इन्चार्जका रूपमा कार्यरत भए पनि वास्तविक रूपमा घुमुवा भूमिका निर्वाह गरिरहेका छन् ।
तेज नारायण यादव यसअघि पनि विवादमा परेका थिए। स्रोतका अनुसार उनी मलङ्गवाको झिम नदी किनारमा रातको समयमा एक युवतीसँग अश्लील गतिविधिमा लिप्त रहेको अवस्थामा स्थानीय युवाहरूले समातेका थिए। घटनास्थलबाट उनी एक बोतल रक्सी सहित फेला परेका थिए। नियन्त्रणमा लिइएपछि सशस्त्र प्रहरी गणमा बुझाइएको थियो। अनुसन्धानका क्रममा ती युवती मलङ्गवाको एक होटल एण्ड लजमा वेश्यावृत्तिमा संलग्न रहेको खुलेको थियो।
प्रहरी सहायक निरीक्षक तेज नारायण यादवले व्यापारीहरू सुरेश यादव, लखिन्द्र यादव, सरोज यादव, राजेश ठाकुर, राजेश महतो (बरहथवा), विजय यादव, नबिन चौधरी, बुधु यादव, राम ईश्वर लगायतका तस्करहरूबाट असुली गरिरहेको प्रहरी स्रोतले जनाएको छ। व्यापारीहरूसँग मिलेर उनीहरूले नियमित रूपमा असुली धन्दा सञ्चालन गरिरहेको आरोप लागेको छ।
तस्करी नियन्त्रण गर्नुपर्ने प्रहरी नै तस्करहरूका संरक्षक बनेपछि स्थानीयबासीहरू आक्रोशित भएका छन्। यस घटनापछि प्रहरी प्रशासनको चर्को आलोचना भइरहेको छ। अब यी घुमुवा प्रहरीमाथि के कारबाही हुन्छ भन्ने विषय चासोको विषय बनेको छ।
यस विषयमा प्रदेश प्रहरी कार्यालय प्रमुखलाई जानकारी गराउँदा, उनले जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपीलाई ती घुमुवाहरूलाई कारबाही गर्न निर्देशन दिइसकेको बताएका छन्।







