रिंकु सदा मृत्यु प्रकरण: पक्राउ परेका ८ जना अभियुक्तहरु सार्वजनिक, चार जना अझै फरार

२०८१ फाल्गुन २३, शुक्रबार २०:१३

सर्लाही – सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा शंकास्पद मृत्यु घटनामा पक्राउ परेका अभियुक्तहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाले आज पत्रकार सम्मेलन गरी अभियुक्तहरू सार्वजनिक गरेको हो। प्रहरीका अनुसार हालसम्म आठ जना पक्राउ परेका छन् भने चार जना फरार छन् ।

पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास छन् । अभियुक्तमध्येका चन्देश्वर, रामविनोद र कमलेशलाई प्रहरीले फागुन ११ मै पक्राउ गरेको थियो ।

त्यसैगरी बलात्कारका मुख्य अभियुक्त रुपेश गत २१ गते पक्राउ परेका थिए । आज मात्रै प्रहरीले अन्य चार जनालाई लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरेको हो।

त्यसमध्ये रुपेश, नथुनी, रामकृपाल र विन्देश्वर जाहेरीमा नाम किटान गरिएका व्यक्ति हुन् भने अन्यको जाहेरीमा नाम उल्लेख नभए पनि पञ्चायतीमा भूमिका देखिएको छ। पक्राउ परेकाहरुलाई जिल्ला अदालत सिरहाबाट पाँचदिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ भने फरार अभियुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार