सर्लाहीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, तिन जना घाइते

२०८१ फाल्गुन २४, शनिबार १९:०२
सांकेतिक तस्बिर

मलङ्गवा – सर्लाहीमा दुई वटा मोटरसाईकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन्। मृत्यु हुनेमा जिल्लाको चक्रघट्टा गाउँपालिका–८, औरही बस्ने ५० वर्षीय विनोद राउत रहेको प्रहरीले जनाएको छ।

उनको आज दिउँसो बिरगंजमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा चक्रघट्टा गाउँपालिका–८, औरही कै ४० वर्षीय ओमशङ्कर साह, गोडैता नगरपालिका–७, जानकीटोल बस्ने रामसिंहासन राउत र गोडैता नगरपालिका–७, जानकीटोल कै २० वर्षीय गुल्शन महतो रहेका छन्।

घाइतेमध्ये गुल्शनको जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा र अन्य दुई जनाको वीरगन्जमा उपचार भईरहेको छ।

शुक्रबार साँझ नवलपुर–मलङ्गवा सडक अन्तर्गत जिल्लाको कविलासी नगरपालिका–१०, सलेमपुरमा मलङ्गवाबाट कविलासीतर्फ जाँदै गरेको बीआर ३० ए एच ७६३० नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बीआर ३० ए एल ८२७८ नम्वरको मोटरसाइकल एक आपसमा ठोक्किँएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार