जनमत पार्टीमा आर्थिक विषयलाई लिएर विवाद

२०८१ फाल्गुन २४, शनिबार २१:२२

सर्लाही – सीके राउत नेतृत्वको जनमत पार्टीमा आर्थिक विषयलाई लिएर विवाद चर्किएको छ ।

आर्थिक हिसाबकिताबबारे अध्यक्ष राउत र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवबीच आरोपप्रत्यारोप भएको हो । हिसाबकिताबको विवादले अध्यक्ष राउतले कोषाध्यक्ष यादवलाई कारबाही गरेका छन् । २५ फागुनमा सुरु हुन लागेको केन्द्रीय समिति बैठकको ठीक अघिल्लो दिन कोषाध्यक्षलाई राउतले कारबाही गरेका हुन् । यादवलाई ११ फागुनमा स्पष्टीकरण सोधिएको थियो । आर्थिक पारदर्शिता नभएको भन्दै विभिन्न चारवटा आरोप लगाई स्पष्टीकरण सोधिएको थियो ।

स्पष्टकीरणको जवाफ नदिँदै कोषाध्यक्ष यादव कारबाहीमा परेका हुन् । कोषाध्यक्ष यादवमाथि चन्दा उठाएर व्यक्तिगत लाभ लिएको आरोप लागेको छ । उनले विभिन्न कार्यकर्ताबाट उठाएको लेबीबाट काठमाडौंमा घर किन्नेदेखि जनकपुरमा व्यवसाय गरेकोसम्म आरोप लागेको छ । करोडौँ रकम हिनामिना गरेको आरोपमा राउतले कारबाही गरेपछि यादवले पनि अध्यक्ष राउतले आर्थिक हिनामिना गरेको बताउने गरेका छन्।

आफूले पार्टीमा करिब ५ करोडसम्म लगानी गरेको र त्यसको हिसाब मागेपछि कारबाही गरिएको दाबी उनले गरेका छन् । आफूले पार्टीभित्र हिसाबकिताब माग्न थालेपछि केन्द्रीय समितिको बैठकअघि कारबाही गरिएको दाबी गरेका छन् । यादवले स्पष्टीकरणको जवाफ दिन नपाउँदै कारबाही गर्नुले राउतको कमजोरी रहेको यादवले दाबी गर्ने गरेका छन् । यादवमाथि गुटबन्दी गरेको, पार्टी विभाजन गराउने खेलमा लागेको आरोप पनि लागेको छ ।

पार्टीको अनुशासन समितिले कोषाध्यक्ष यादवलाई सोधेको स्पष्टीकरणमा पार्टी विभाजनका लागि चलखेल गरेको बारे उल्लेख गरिएको छ । साथै, समितिले अनुशासन समितिका संयोजक दीपक साहलाई पनि कारबाही गरेको छ । उपाध्यक्षमा नरेन्द्र चौधरी र अनिता मण्डललाई सदस्यसचिव चयन गरिएको छ। सदस्यसचिव मण्डलको हस्ताक्षरबाट सो स्पष्टीकरण सोधिएको हो । जनमतको केन्द्रीय समितिको बैठक आइतबारदेखि बर्दिबासमा बस्दै छ । – शिलापत्र

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार