बिमा रकम हत्याउन आफ्नै पसल जलाउने पर्साका रमेश पोखरामा पक्राउ

२०८१ फाल्गुन २५, आईतवार २२:२७

सर्लाही – प्रहरीले बिमा रकम हत्याउन आफ्नै पसल जलाउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थायी घर भई हाल पोखरा–२७ तालचोक बस्ने बस्ने २८ वर्षीय रमेश शर्मा लोहार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लोहारले पोखरा ८ न्युरोडमा शर्मा आईटी हब सञ्चालन गर्दै आएका थिए । मासिक ३५ हजार भाडा तिरेर सञ्चालन गरिएको आईटी हबमा दुईजना कामदार पनि थिए । आगलागी भएको दिन दुवैजना कामदार बिदामा थिए भने पसल पनि दुई दिनअघिदेखि बन्द रहेको थियो ।

फागुन १६ गते साँझ सात बजेतिर उक्त आईटी हबमा आगलागी भयो । आगलागीबाट ९४ लाखको क्षति भएको भन्दै लोहारले वडा प्रहरी कार्यालय बैदाममा त्यसको भोलिपल्टै निवेदन दिएका थिए । उनले आफ्नो पसलको एक करोडबराबरको बिमा पनि गरेका थिए ।

घटनाको तीन दिनपछि लोहारले शिखर इन्स्योरेन्स कम्पनीमा मोबाइल चार्जमा राखेर वासरुम गई फर्किंदा केही पड्किएको आवाज आई हेर्दा आगलागी भएको भन्ने व्यहोरासहित बिमा रकम दाबी गरे । आगो लगाउने व्यक्ति स्वयं लोहार नै रहेको अनुसन्धानका क्रममा पत्ता लागेको प्रहरी बताउछ।

घटनास्थलको प्रकृतिको अध्ययन, घटनास्थलबाट म्यानुअल्ली र डिजिटल्ली दुवै प्रकारबाट आगलागी भएको घटनाबारे विभिन्न सबुद प्रमाण संकलन गरेको, लोहारको तालचोकस्थित पसलको पनि अनुसन्धानपछि प्रहरीले बिमा रकमकै लोभमा लोहार आफैँले पसलमा आगो लगाएको निष्कर्षमा पुगेको हो ।

पक्राउ परेका लोहारलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार