
सर्लाही – सर्लाहीको धनकौल गाउँपालिका-५ हरकठवामा विवाहको ब्रह्म पूजा गर्ने क्रममा झडप भएको छ।
गएराती धनकौल-५ निवासी दलित महिला सदस्य मञ्जु देवीका छोरा सुशील पासवानको विवाहमा ब्रह्म पूजा गर्ने क्रममा पासवान र तेली समुदायबीच विवाद हुँदा कुटाकुट भएको हो। प्रहरीका अनुसार दुई समुदायबीच विवाद उत्पन्न हुँदा पाँच जना कुटपिटमा परेका छन् भने वडाध्यक्ष गजेन्द्र महतोको गाडीमाथि आक्रमण भएको छ।
पहिला तेली समुदायले ब्रह्म पूजा गरिसकेपछि पासवान समुदाय पूजा गर्न लागेको थियो। तर, पूजा अघि बढाउन नदिएपछि झडप भएको थियो। एक घन्टा होल्डमा बसेर घोडामा फोटो खिच्दै गर्दा तेली समुदायका युवाले हस्तक्षेप गरेपछि झडप सुरु भएको बताइएको छ।
घटनामा जयकिशोर पासवान, मुकेश पासवान, नरेन्द्र पासवान, रामश पासवान र कमलेश पासवान सामान्य घाइते भएका छन्। सोही विवाहको जन्ती चक्रघटा गाउँपालिकाको गोहियाही गाउँ हुँदै औरही जाँदै गर्दा वडाध्यक्ष गजेन्द्र महतोको गाडीमाथि आक्रमण गरेको बताईएको छ। आक्रमणमा गाडीको अगाडिको सिसा सामान्य रूपमा क्षति भएको छ।