
राजेन्द्र बिश्वकर्मा, गोडैता – सर्लाहीमा नक्कली नोटसहित पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको धनकौल गाउँपालिका – ७, बैरिया बस्ने ४८ बर्षिय दुलार सहनी, ब्रहमपुरी गाउँपालिका – २, बस्ने ५० बर्षिय रामपृत सहनी, ब्रहमपुरी गाउँपालिका २ बस्ने ३५ बर्षिय सिहानता कुमारी देवी, महोतरीको सुनवा गाउँपालिका – ७, सुन्दरपुर बस्ने ४२ बर्षिय खुर्सैद भन्ने सुल्तान मंसुर र रौतहटको गढीमाई नगरपालिका – ९, चिलमिलिया टोल बस्ने ५६ बर्षिय राम नारायण सहनी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सोमबार राति मलंगवा नगरपालिका – ८, गोरखकालीस्थित सडक खण्डबाट पक्राउ गरेको हो। तीन वटा मोटरसाईकलमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त स्थानमा खानतलासी गर्दा नक्कली नोट भेटिएपछि पक्राउ गरिएको हो।
उनीहरुले १ हजार दरका एक-एक वटा नोटहरू तलमाथि राखेर बिँचमा नोटकै साईजको सादा कागज राखेका थिए। त्यसरी ८८ वटा नोटहरु तलमाथि राखेका थिए भने बिँचमा त्यहि साईजको सादा कागज राखेर एउटा काटुनमा भरेर ल्याएका थिए।
प्रहरीले उनीहरुको साथबाट नेपाली नक्कली नोट एक हजार दरका ८८ बण्डलमा राखिएका नोटहरू र नोट साईजको सेतो कागजको बण्डल ८ थान, बा ४७ प ८७५७, बिआर ३० सी ४७६६ र बिआर ३० एआई ३९४९ नम्बरका तिन थान मोटरसाईकल र ३ थान मोबाईल बरामद गरेको छ।
पक्राउ परेकाहरुमाथि मुद्रा सम्बन्धि कसूर शिर्षकमा जिल्ला अदालत सर्लाहीबाट सात दिनको म्याद थप गरि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए।