
मलंगवा – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सर्लाहीको सदरमुकाम मलंगवामा अबैध रुपमा संचालन गरिएका १५ अस्पताल बन्द गर्न निर्देशन दिएका छन्। बिहिबार साँझ मलंगवामा प्रादेशिक अस्पतालसहित १९ निजी अस्पताल तथा पोलिक्लिनिकको अनुगमन गर्ने क्रममा १५ वटा अस्पताल तथा पोलिक्लिनिक अवैध रूपमा सञ्चालनमा रहेको पाइएपछि बन्द गर्न निर्देशन दिएका हुन्।
यसरि अबैध रुपमा संचालनमा रहेका मैक्स हस्पिटल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसीस सेन्टर, क्ल्याण हेल्थ केयर, शीतल डेन्टल केयर, चन्द्रकला पोलिक्लिनिक, इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एवम् एक्सरे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर, गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, सिद्धिदाता हेल्थ केयर, र देवश्री पोलिक्लिनिक बन्द गर्न निर्देशन दिइएको छ।
यसैगरी अनुगमनका क्रममा संचालनका लागि अनुमति लिएका जयश्री ओम हेल्थ केयर प्रालि, श्री तिरुपति बालाजी पोलिक्लिनिक प्रालि, र श्री ब्रह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र अनुमति नवीकरण गर्न निर्देशन दिइएको छ। मुख्यमन्त्रीको अनुगमनको खबर फैलिएपछि मलंगवाका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिकका सञ्चालक र कर्मचारी ताल्चा लगाएर भागेका थिए।
जिल्लामा सबै भन्दा बढी सेवा प्रवाहमा लापरवाही र कमिसनको लागि बिरामीलाई निजि अस्पतालमा रिफर गर्ने गरेको गुनासो आउने गरेको प्रादेशिक अस्पतालमा अनुगमनको क्रममा बिरामीलाई निःशुल्क खुवाइने खाना अस्वस्थकर रहेको पाइएको छ। उक्त अस्पतालका प्रमुखलाई क्यान्टिन परिवर्तन गर्न आदेश र आकस्मिक कक्षका लागि आवश्यक जनशक्ति पूर्ण रूपमा परिचालन गर्न र अन्तरङ्ग कक्षमा सूचीबद्ध एम्बुलेन्स चालकका नाम हटाउनसमेत निर्देशन दिइएको छ।