
सर्लाही – यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरू हुँदैछ । परीक्षाको सबै तयारी पूरा भएको भन्दै ढुक्क भएर परीक्षा दिन राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आग्रह गरेको छ ।
कार्यालयका अनुसार भोलि अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा बिहान ८ बजेदेखी शुरू हुने छ । यस वर्षको परीक्षामा ५ लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ । यस वर्ष जापानको परीक्षा केन्द्रबाट २९ जना विद्यार्थीले एसईई दिँदै छन् । यस्तै केन्द्रीय कारागार सुन्धारा र एउटा दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएका छन् ।
यस वर्ष सबैभन्दा धेरै विद्यार्थी काठमाण्डौमा ३९ हजार ६ सय जना र सबैभन्दा कम परीक्षार्थी मनाङमा ४३ जना छन ।परीक्षा आउँदो १९ गतेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आउँदो असार ७ गतेभित्र निकाल्ने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको वर्षदेखि न्यूनतम ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीहरू अनुत्तीर्ण हुने व्यवस्था लागू गरेको छ ।
यस्तै, मधेस सरकारले केही दिन अघि पत्रकार सम्मेलन गरि एसईईमा सरकारको प्रक्रियाबाट बाहिरिने जनाएको थियो । प्रदेश सरकारले भने बमोजिम मधेसका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारिहरुले एसईई संचालन गर्न नमानेको भन्दै एसईई प्रक्रियाबाट मधेस सरकार बहिरिने बताएको हो ।