काठमाडौ – काठमाडौको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा शुक्रबार भएको तोडफोड र लुटपाटबाट ८० लाख बढीको क्षति भएको छ ।
राजावादी समूहले तिनकुनेमा गरेको प्रदर्शन अनियन्त्रित भएपछि प्रदर्शनकारीहरूले भाटभटेनी प्रवेश गरी तोडफोड र लुटपाट गरेका थिए । भाटभटेनीका सिओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ ।

त्यसैगरी बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनमा चौतर्फी क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।सिओओ पौडेलका अनुसार दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ ।
काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको उनले बताए । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जना पक्राउ परिसकेका छन् । प्रहरीले फोटो र भिडियो फुटेज मार्फत पक्राउ कार्य जारी राखेको छ । – नेपाल लाईभबाट





